भित्रको रङ्गीन, काल्पनिक दृश्यसहितको टाउकोको चित्र।

Spotify प्लेटफर्मका नियमहरू

Spotify को उद्देश्य भनेको लाखौँ सिर्जनशील कलाकारहरूलाई आफ्नो कला प्रस्तुत गर्ने र अरबौँ फ्यानहरूलाई उक्त कलाको मजा लिने र त्यसबाट प्रेरित हुने मौका दिएर – मानव प्रतिभाको सम्भावनालाई उजागर गर्ने हो। हामी कलात्मक अभिव्यक्ति, विचार, परिप्रेक्ष्य र आवाजका विभिन्न स्वरूपहरूलाई स्वागत गरेर हाम्रो प्लेटफर्ममा यो लक्ष्य हासिल गर्न सम्भव भएको छ भन्ने कुरा विश्वास गर्दछौँ। यसको अर्थ हाम्रो प्लेटफर्मका केही सामग्री सबै व्यक्तिलाई मन नपर्न सक्छ वा Spotify ले सिफारिस गरेको नहुन सक्छ भन्ने हो।

तर हाम्रो प्लेटफर्मका केही सीमा तथा नियमहरू भने रहेका छन्। तपाईंले हाम्रा सेवाहरू प्रयोग गर्दा तपाईंले सहमति जनाउनुभएका सर्तहरू लागू हुन्छन्। ती सर्तहरूका साथै यी नियमहरूले सबै जनाले सुरक्षित र रमाइलो अनुभव लिन सकून् भन्ने कुरा सुनिश्चित गर्न मद्दत गर्छन्।

ती नियमहरू के-के हुन्?

तपाईं सङ्गीतकार, पोडकास्टर वा अन्य योगदानकर्ता जे भए पनि तपाईं हाम्रो प्लेटफर्ममा के-कस्ता सामग्रीलाई अनुमति दिइँदैन भन्ने कुराका बारेमा सचेत हुनु पर्छ। तलका खण्डहरूमा दिइएका उदाहरणहरू चित्रण गर्ने उद्देश्यका लागि हुन् तर यतिमै सीमित भने छैनन्।

खतरनाक सामग्री

Spotify मा मानिसहरूले सामग्री सिर्जना गर्न, आफूलाई अभिव्यक्त गर्न, सामग्री सुन्न, सयेर गर्न, नयाँ कुरा सिक्न र प्रेरणा पाउन सक्छन्। अरूलाई हिंसा गर्न उक्साउने, घृणा फैलाउने, उत्पीडन गर्ने काम नगर्नुहोस् वा मानिसहरूलाई गम्भीर शारीरिक हानि वा मृत्युको जोखिममा पार्न सक्ने अन्य कुनै गतिविधिमा संलग्न नहुनुहोस्। गर्न नहुने कुराहरू:

कुनै व्यक्ति वा समूहप्रति गम्भीर शारीरिक हानि गर्न उक्साउने वा उक्त कार्यको प्रशंसा गर्ने सामग्रीमा अन्तर्गत निम्नलगायतका सामग्री पर्दछन्:

  • खानपानमा गडबडीलगायत आत्महत्या र आत्मघातलाई प्रोत्साहन गर्ने, प्रवर्द्धन गर्ने, प्रशंसा गर्ने वा निर्देशनहरू उपलब्ध गराउने तपाईं वा तपाईंले चिन्ने कोही व्यक्ति यस्तो समस्यामा हुनुहुन्छ वा आत्मघात गर्ने सोच्दै हुनुहुन्छ भने मद्दत प्राप्त गर्ने तरिकाहरूका बारेमा जानकारी प्राप्त गर्न कृपया यहाँ हेर्नुहोस्
  • कुनै खास लक्षित वर्ग वा खास समूहका विरुद्ध गम्भीर शारीरिक हानि वा हिंसा गर्नका लागि प्रोत्साहन गर्ने वा धम्की दिने वा निर्देशनहरू उपलब्ध गराउने
  • खतरनाक चुनौती र लागुपदार्थ दुरुपयोगलगायत गम्भीर हानि निम्त्याउने गतिविधिहरूमा नाबालिगहरूलाई संलग्न हुन प्रवर्द्धन गर्ने वा प्रोत्साहन गर्ने

आतङ्कवाद वा हिंसात्मक अतिवादको प्रवर्द्धन गर्ने वा समर्थन गर्ने सामग्री अन्तर्गत निम्नलगायतका सामग्री पर्दछन्:

  • हिंसक चरमपन्थी समूह वा तिनीहरूका सदस्यहरूको महिमा वा प्रशंसा गर्ने
  • हिंसक चरमपन्थी समूह वा तिनीहरूका सदस्यहरूले गर्ने वा तिनीहरूको तर्फबाट गरिने हिंसाको समन्वय, प्रवर्धन गर्ने, धम्की दिने वा प्रशंसा गर्ने कार्य
  • हिंसक चरमपन्थीको कार्य गर्न निर्देशन वा निर्देशनात्मक सामग्री प्रदान गर्ने
  • कुनै व्यक्ति वा समूहलाई हिंसक चरमपन्थीको कार्य गर्न लगाउन पैसा प्रदान गर्ने वा हिंसक चरमपन्थी समूहका क्रियाकलापहरूमा सङ्गलग्न हुने

उत्पीडन वा सम्बन्धित दुर्व्यवहारका लागि कुनै व्यक्ति वा कुनै निश्चित समूहलाई लक्षित गर्ने सामग्री अन्तर्गत निम्नलगायतका सामग्री पर्दछन्:

  • कुनै खास व्यक्तिलाई बारम्बार यौन दुर्व्यवहार गर्ने
  • लज्जित पार्ने वा तर्साउने नियतले कुनै नाबालकलाई उनको शारीरिक बनावटको आधारमा दुर्व्यवहार गर्नेलगायतका कार्य गरी पटक-पटक निशाना बनाउने
  • सहमति नलिइकन खिचिएको वा प्रकाशित गरिएको सामग्री सेयर गर्ने र यस्ता सामग्री वितरण वा खुलासा गर्ने धम्की दिने
  • कुनै व्यक्तिको क्रेडिट कार्ड वा बैंकिङ जानकारी, राष्ट्रिय परिचय नम्बरलगायका निजी जानकारी सेयर गर्ने, सेयर गर्ने धम्की दिने वा अरूलाई सेयर गर्न प्रोत्साहन गर्ने

जाति, धर्म, लैङ्गिक पहिचान वा अभिव्यक्ति, लिङ्ग, जातीय, राष्ट्रियता, यौनिक झुकाव, सैन्य सेवाको अनुभव, उमेर, अपाङ्गता वा प्रणालीगत भेदभाव वा सीमान्तीकरणसँग सम्बन्धित अन्य विशेषताहरूको आधारमा कुनै व्यक्ति वा मान्छेहरूको समूहप्रति हिंसा वा घृणा गर्न प्रोत्साहन गर्ने सामग्री अन्तर्गत निम्नलगायतका सामग्री पर्दछन्:

  • माथि सूचीबद्ध विशेषताहरूका आधारमा कुनै व्यक्ति वा मान्छेहरूको समूहविरुद्ध हुने हिंसाको प्रशंसा गर्ने, समर्थन गर्ने वा सो कार्य गर्न आह्वान गर्ने
  • माथि सूचीबद्ध संरक्षित विशेषताहरूका आधारमा कुनै व्यक्ति वा समूहका बारेमा अमानवीय वक्तव्य
  • घृणा फैलाउने समूह र तिनीहरूसँग सम्बन्धित फोटो वा प्रतीक वा दुवैलाई प्रवर्द्धन गर्ने वा प्रशंसा गर्ने

अफलाइन हानि निम्त्याउने वा जनस्वास्थ्यलाई प्रत्यक्ष रूपमा खतरामा पार्ने खतरनाक झुटा वा खतरनाक भ्रामक चिकित्सा जानकारी प्रवर्द्धन गर्ने सामग्री अन्तर्गत निम्नलगायतका सामग्री पर्दछन्:

  • AIDS, COVID-19, क्यान्सर वा जीवनलाई जोखिममा पार्ने अन्य गम्भीर रोगहरू झुटा हुन् वा भ्रामक हुन् भनी दाबी गर्ने
  • विभिन्न बिमारी र रोगहरू निको पार्न ब्लिचसम्बन्धी उत्पादनहरू सेवन गर्न प्रोत्साहन गर्ने
  • स्थानीय स्वास्थ्य अधिकारीहरूले अनुमोदन गरेका खोपहरू मान्छे मार्नका लागि तयार पारिएका हुन् भनी प्रचार गर्ने वा दावी गर्ने
  • मानिसहरूलाई COVID-19 विरुद्ध प्रतिरोधात्मक क्षमता निर्माण गर्न यसबाट जानाजान सङ्क्रमित हुन प्रोत्साहित गर्ने (जस्तै "कोरोनाभाइरस पार्टीहरू" को प्रवर्द्धन गर्ने वा आयोजना गर्ने)

नियमन गरिएका वा गैरकानूनी सामानहरूको बिक्रीलाई अवैध रूपमा प्रवर्द्धन गर्ने सामग्री अन्तर्गत निम्नलगायतका सामग्री पर्दछन्:

  • अवैध बन्दुक वा बन्दुकका पाटपुर्जा बिक्री गर्ने
  • लागुऔषध बिक्री गर्ने
  • लोपोन्मुख प्रजातिहरू वा लोपोन्मुख प्रजातिहरूबाट बनाइएका उत्पादनहरू बिक्री गर्ने

बाल यौन दुर्व्यवहार वा शोषणलाई प्रवर्द्धन गर्ने, उक्त कार्य गर्नका लागि अनुरोध गर्ने वा सहजीकरण गर्ने सामग्रीमा निम्नलगयातका कुरा समावेश हुन्छन्:

  • यौन कार्यमा संलग्न नाबालिगको चित्रण गर्ने वा नग्न नाबालिगको यौन क्रिया वा कामुक चित्रण गर्ने
  • पैसा लिएर बाल यौन दुर्व्यवहारलाई प्रवर्द्धन गर्ने
  • नाबालिगहरूप्रति वयस्कहरूको यौन आकर्षणलाई प्रोत्साहन गर्ने वा प्रवर्द्धन गर्ने
  • बच्चालाई ललाइफकाइ गर्ने व्यवहारलाई प्रवर्द्धन गर्ने, सामान्य कार्यका रूपमा प्रस्तुत गर्ने वा त्यसको प्रशंसा गर्ने

भ्रामक सामग्री

Spotify मा सबैले राम्रो अनुभव पाऊन् भन्नाका लागि मान्छेहरूको सही प्रतिनिधित्व भएको छ, मान्छेहरूलाई जालसाली गरिँदैन र कसैले पनि हाम्रो प्लेटफर्म हेरफेर गर्न खोजिरहेका छैनन् भन्ने कुरा विश्वास दिलाउनु पर्ने हुन्छ। अरूलाई भ्रममा पार्न हानिकारक कार्यहरू नगर्नुहोस्। गर्न नहुने कुराहरू:

धोका दिनका लागि अरूको नक्कल गर्ने सागग्री अन्तर्गत निम्नलगायतका सामग्री पर्दछन्:

  • कुनै अर्को निर्माताको नाम, फोटो वा विवरण वा दुवैको नक्कल गर्ने
  • भ्रम फैलाउने तरिकाले आफूलाई अर्को व्यक्ति, ब्रान्ड वा सङ्गठनका रूपमा प्रस्तुत गर्ने

हानि पुर्‍याउने जोखिम निम्त्याउने गरी तोडमोड गरिएका तथा कृत्रिम मिडियालाई वास्तविक भनी प्रचार गर्ने सामग्री अन्तर्गत निम्नलगायतका सामग्री पर्दछन्:

  • वैध वा वास्तविक स्रोतबाट लिइएको, मूल मिडियाको सन्दर्भ वा अर्थ परिवर्तन गर्ने हिसावले परिवर्तन गरिएको, तथा सत्य नभए पनि सत्य देखिने गरी प्रस्तुत गरिएको अडियो वा भिडियो। यस्तो अडियो वा भिडियोले वक्ता वा अन्य व्यक्तिलाई हानी गर्ने सम्भावना हुन्छ
  • प्रविधिको प्रयोग गरी कृत्रिम रूपमा बनाइएको अडियो वा भिडियो मिडियालाई साँचो भनी दाबी गरिएका सामग्री जस्तै, डिजिटल रूपमा तयार पारिएको यौनजन्य अडियो र भिडियो सामग्री वा कसैले अपराध गरेको छ भनेर झुटो जानकारी दिने सामग्री

चुनावी प्रक्रियाहरू तोडमोड गर्ने वा तिनमा हस्तक्षेप गर्ने प्रयास गर्ने सामग्री अन्तर्गत निम्नलगायतका सामग्री पर्दछन्:

  • नागरिकहरू मतदानसँग सम्बन्धित प्रक्रियामा सहभागि नहुन् भन्नाका लागि ती प्रक्रियाहरूलाई गलत तरिकाले पेस गर्ने
  • मतदाताहरूलाई चुनावमा भाग नलिन भनी डराउन वा दबाब दिन प्रवर्द्धन गरिएको भ्रामक सामग्री

Spotify समुदायको फाइदा उठाउन खोज्ने सामग्री अन्तर्गत निम्नलगायतका सामग्री पर्दछन्:

  • कम्प्युटर, नेटवर्क, सिस्टम वा अन्य प्रविधिहरूलाई हानि पुर्‍याउने वा अनुमतिविनै तिनलाई प्रयोग गर्नका लागि मालवेयर हाल्ने वा हानि गर्ने खालका अन्य क्रियाकलापका बारेमा पोस्ट गर्ने, सेयर गर्ने वा उक्त कार्य निर्देशन दिने
  • संवेदनशील जानकारी प्राप्त गर्नका लागि फिसिङ वा सोसँग सम्बन्धित अन्य भ्रामक तरिका प्रयोग गरी फसाउने
  • छिटो-छिटो धनी बन्नुहोस् र पिरामिड स्किम जस्ता वित्तीय घोटालाहरूको प्रवर्द्धन गर्ने वा अरूलाई झुटो बाहाना देखाएर गलत तरिकाले आर्जन गरिएको पैसामा आफ्नो हिस्सा लिन प्रोत्साहन गर्ने

संवेदनशील सामग्री

Spotify मा थुप्रै गजबका सामग्री छन् तर यो प्लेटफर्ममा हामीले अनुमति नदिएका सामग्री पनि छन्। अत्यधिक हिंसात्मक वा ग्राफिक सामग्री र अश्लील सामाग्री पोस्ट नगर्नुहोस्। गर्न नहुने कुराहरू:

ग्राफिक वा अनावश्यक हिंसा, रक्तपात वा स्तब्ध पार्ने खालका फोटोको प्रवर्द्धन गर्ने सामग्री अन्तर्गत निम्नलगायतका सामग्री पर्दछन्:

  • अङ्गच्छेदन वा अङ्गभङ्ग भएका लासहरू
  • पशु क्रूरता वा यातनाको प्रवर्द्धन गर्ने

अश्लील सामग्री समावेश भएको सामग्री अन्तर्गत निम्नलगायतका सामग्री पर्दछन्:

  • यौन सन्तुष्टिको उद्देश्यले पोर्नोग्राफी वा यौनाङ्ग वा नग्न दृश्य देखाउने
  • बलात्कार, हाडनाता करणी वा पशु करणीसँग सम्बन्धित यौन विषयवस्तुहरूको वकालत गर्ने वा प्रशंसा गर्ने

अवैध सामग्री

कानुन भनेको कानुन हो। तपाईं जोकोही भए पनि प्रचलित कानुन र नियमहरूको पालना गर्नु तपाईंको दायित्व हो। गर्न नहुने कुराहरू:

प्रचलित कानुन र नियमहरूको उल्लङ्घन गर्ने सामग्री अन्तर्गत निम्नलगायतका सामग्री पर्दछन्ः

  • प्रचलित प्रतिबन्ध र निर्यातसम्बन्धी नियमहरूको पालना नगर्ने सामग्री
  • कुनै पनि प्रकारको गैरकानूनी कार्य गर्ने वा त्यसलाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको सामग्री

अरूको बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार हनन गर्ने सामग्री अन्तर्गत निम्नलगायतका सामग्री पर्दछन्:

  • आवश्यक अनुमतिहरू नलिइकनै Spotify मा हालिएको सामग्री
  • तेस्रो-पक्षका कपिराइट वा ट्रेडमार्कहरू हनन गर्ने सामग्री

Spotify ले यी नियमहरू कसरी लागू गर्छ?

Spotify ले प्रविधि र म्यानुअल तरिकाले गरिने समीक्षा दुवै प्रयोग गरी विश्वभरिका यी नियमहरू निरन्तर रूपमा लागू गर्ने लक्ष्य लिएको हुन्छ। हामी हाम्रो प्लेटफर्मका नियमहरू उल्लङ्घन गर्न सक्ने सामग्री पत्ता लगाउ प्रयोगकर्ताले गरेका रिपोर्टहरूका साथसाथै विभिन्न किसिमका सङ्केत तथा सूचनाहरूमा आधारित स्वचालित टुलहरू प्रयोग गर्छौँ।

हामीसँग हाम्रा प्लेटफर्मका नियमहरू बनाउने, संशोधन गर्ने र लागू गर्ने विशेषज्ञहरू सम्मिलित विश्वव्यापी टोलीहरू छन्। नियमहरूको उल्लङ्घन गर्न सक्ने सामग्रीका बारेमा रिपोर्ट गरिएमा वा त्यस्तो सामग्री पत्ता लागेमा हाम्रा टोलीहरू सो सामग्रीका सम्बन्धमा नियमअनुसार उचित कारबाही गर्ने छन्।

नियमहरू तोडियो भने के हुन्छ?

हामी यी निर्णयहरूलाई गम्भीरतापूर्वक मनन गर्छौँ र प्लेटफर्मका नियमहरूको सम्भावित उल्लङ्घनहरूको मूल्याङ्कन गर्दा सन्दर्भलाई ध्यानमा राख्छौँ। सामग्रीले नियमहरूको उल्लङ्घन गरिएको खण्डमा उक्त सामग्री Spotify बाट हटाइन सक्छ। खाताहरूले बारम्बार वा अटेर गरी नीतिको उल्लङ्घन गरेका खण्डमा ती खाताहरू निलम्बन गर्न वा खारेज गर्न वा दुवै कारबाही गर्न सकिन्छ। यहाँ गई हामीले सामग्री वा खाताहरूमा गर्न सक्ने अन्य कारबाहीबारे थप जान्नुहोस्।

मैले जान्नु पर्ने अन्य कुराहरू के-के हुन्?

प्लेटफर्मका यी नियमहरूले Spotify सबैका लागि खुला र सुरक्षित प्लेटफर्म रहने कुरा सुनिश्चित गर्न मद्दत गर्दछन्। हामी आवश्यकताअनुसार यो जानकारीको मुल्याङ्कन र संशोधन गरिराख्ने भएकाले कृपया समय-समयमा यो जानकारी हेर्नुहोस्। तपाईंले प्रयोग गर्ने Spotify का उत्पादन वा सुविधाहरूका आधारमा तपाईंले अतिरिक्त मापदण्डहरू पालना गर्नु पर्ने हुन सक्छ।

म कुनै समस्याका बारेमा कसरी रिपोर्ट गर्न सक्छु?

तपाईंले Spotify मा भएको कुनै सामग्रीमा केही समस्या भेट्टाउनुभएको छ? भेट्टाउनुभएको छ भने यहाँ गई उक्त सामग्रीका बारेमा रिपोर्ट गरेर हामीलाई बताउनुहोस्।